अवैध सामान नियन्त्रण गर्न खोज्दा प्रहरीमाथि आक्रमण, तीन जना पक्राउ
कैलालीमा भारतबाट अवैध रूपमा ल्याइँदै गरेको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमण भएको छ। घटनामा दुई प्रहरी घाइते भएका छन् भने आक्रमणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
बिहीबार दिउँसो भजनी नगरपालिका–३ ठेकीपुर चोकमा मोटरसाइकलमा भारतबाट ल्याइँदै गरेको सामान नियन्त्रणमा लिन खोज्दा इलाका प्रहरी कार्यालय भजनीमा कार्यरत प्रहरीमाथि आक्रमण भएको हो।
आक्रमणबाट प्रहरी हवल्दार विनयप्रसाद चौधरीको हात र प्रहरी जवान देवराज जोशीको अनुहारमा चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले बताए। दुवै जनाको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
प्रहरीले आक्रमणमा संलग्न भजनी नगरपालिका–३ पडरियाका लोकबहादुर साउँद, साउँद र धनबहादुर गम्भीर साउँदलाई पक्राउ गरेको जनाएको छ। सामान ओसारपसारमा प्रयोग भएका दुई मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।
घटनामा संलग्न केही व्यक्ति फरार रहेकाले उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।