महिला उद्यमीका उत्पादन प्रवर्द्धन गर्न जमलमा ‘चेम्बर बजार’ सुरु
काठमाडौंको जमलमा महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण, प्रवर्द्धन र व्यापार विस्तार गर्ने उद्देश्यले ‘चेम्बर बजार’ सुरु भएको छ।
नेपाल महिला चेम्बरको आयोजनामा नेपाल चेम्बर अफ कमर्सको भवनमा शनिबारदेखि सुरु भएको बजारमा खाद्यान्न, लत्ताकपडा, हस्तकला तथा आयात–निर्यातसँग सम्बन्धित विभिन्न सामग्रीका स्टल राखिएका छन्।
नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमीका उत्पादनलाई उपभोक्तासम्म पुर्याउन र व्यवसाय विस्तारमा चेम्बर बजारले सहयोग पुग्ने बताइन्। उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने उद्देश्यले बजार सञ्चालन गरिएको उनको भनाइ छ।
बजारमा बिक्री तथा प्रवर्द्धनसँगै व्यवसाय सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण, सीप तथा व्यावसायिक तालिम, महिला स्वास्थ्य सचेतना र निःशुल्क स्वास्थ्य परीक्षणलगायतका कार्यक्रमसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ।
जमलबाट सुरु भएको चेम्बर बजारलाई आगामी दिनमा देशका अन्य प्रमुख सहरमा समेत विस्तार गर्ने योजना रहेको आयोजकले जनाएको छ।