इजिप्टमा मात्सादासका छ पत्रकार पक्राउ, रिहाइको माग
काठमाडौं । इजिप्टका अधिकारीहरूले स्वतन्त्र सञ्चारमाध्यम मात्सादासका छ जना पत्रकारलाई प्रतिबन्धित मुस्लिम ब्रदरहुडसँग सम्बन्धित रहेको आरोपमा पक्राउ गरेका छन्।
अधिकारीहरूले विदेशी स्रोतबाट रकम लिएर अनलाइन माध्यमका लागि झुटा समाचार उत्पादन गरेको आरोप पत्रकारहरूमाथि लगाएका छन्। मात्सादासका सहसंस्थापक अब्देलरहमान मन्सुरले भने आरोप अस्वीकार गरेका छन्।
मन्सुरका अनुसार पक्राउ परेका पत्रकारहरू सोमबार र मंगलबार विभिन्न स्थानबाट पक्राउ परेका हुन्। उनीहरूका मोबाइल फोन तथा कम्प्युटरसमेत जफत गरिएको र पक्राउ परेका पत्रकारहरूलाई कहाँ राखिएको छ भन्नेबारे परिवारलाई समेत जानकारी नदिइएको उनले बताएका छन्।
इजिप्टको गृह मन्त्रालयले मात्सादासलाई भारतबाट सञ्चालन भइरहेको अनुमतिविहीन सञ्चारमाध्यमका रूपमा उल्लेख गर्दै पक्राउ परेका पत्रकारहरू मुस्लिम ब्रदरहुडको ‘मिडिया कमिटी’का सदस्य रहेको आरोप लगाएको छ। मात्सादासले भने इजिप्टसहित विभिन्न अरब मुलुकमा खोजमूलक पत्रकारिता गर्दै आएको जनाएको छ।
व्यक्तिगत अधिकारका लागि इजिप्टियन इनिसिएटिभले पक्राउ परेका पत्रकारहरूलाई परिवार वा कानुनी टोलीसँग सम्पर्क गर्न नदिइएको जनाएको छ। ह्युमन राइट्स वाच र रिपोर्टर्स विदाउट बोर्डर्ससहित ८० भन्दा बढी अधिकार समूह तथा नागरिक समाज संस्थाले पत्रकारहरूलाई तत्काल रिहा गर्न माग गरेका छन्।
सन् २०१३ मा तत्कालीन राष्ट्रपति मोहम्मद मोर्सीलाई सेनाले पदबाट हटाएपछि इजिप्टले मुस्लिम ब्रदरहुडलाई आतङ्कवादी सङ्गठन घोषणा गरेको थियो। त्यसयता पत्रकार तथा सरकारका आलोचकलाई उक्त समूहसँग सम्बन्धित रहेको वा झुटा समाचार फैलाएको आरोपमा पक्राउ गर्ने गरिएको अधिकार समूहहरूले बताएका छन्।