नापजाँचको ९ वर्षपछि धनुषाका १८६ परिवारले पाए लालपुर्जा
धनुषा । धनुषाको बटेश्वर गाउँपालिका–३ र ४ तथा साविक बटेश्वर गाविसका वडा नं. १ देखि ९ सम्मका १८६ परिवारले नापजाँच सम्पन्न भएको करिब नौ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्।
नापी कार्यालय धनुषाले आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो। उक्त क्षेत्रको नापजाँच कार्य २०७४ सालमै सम्पन्न भए पनि प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म पुर्जा वितरण रोकिएको थियो।
रोकिएको प्रक्रिया अघि बढाइएपछि अहिले १८६ थान जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो। पुर्जा प्राप्त भएसँगै स्थानीयको जग्गामाथिको स्वामित्व स्पष्ट भएको छ।
लालपुर्जा प्राप्त भएपछि जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन तथा भूमिसम्बन्धी विवाद निरुपण गर्न सहज हुने जनाइएको छ। यसअघि धनुषाका ४ हजार ५५४ परिवारले जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरिसकेका छन्।