सुरक्षा निकायका आउटलेटबाट पनि एलपी ग्यास बिक्री गर्ने तयारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायका आउटलेटबाट पनि खाना पकाउने ग्यास (एलपीजी) बिक्री वितरण गर्ने तयारी भइरहेको बताएका छन्।
विकास, आर्थिक मामिला तथा सुशासन समितिले आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन’ विषयक कार्यक्रममा बोल्दै सचिव तामाङले ग्यास वितरणमा असहजता उत्पन्न हुँदा सुरक्षा निकायमार्फत आपूर्ति सहज बनाउने गरी व्यवस्था गर्न लागिएको जानकारी दिए।
उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले हाल पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आएका छन्। ती निकायका पेट्रोल बिक्री गर्ने आउटलेटमा कम्तीमा एक–दुईवटा ग्यास बिक्री केन्द्रसमेत सञ्चालन गर्न सके आपत्कालीन अवस्थामा आपूर्ति व्यवस्थापन सहज हुने उनले बताए।
ग्यासको सम्भावित अभावलाई मध्यनजर गर्दै आवश्यक प्रबन्ध मिलाउन लागिएको सचिव तामाङले जानकारी दिए।