महाकाली नदीको तटीय क्षेत्रमा दुई दिन सतर्कता अपनाउन आग्रह
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली नदीको तटीय क्षेत्रका बासिन्दालाई दुई दिन सतर्कता अपनाउन आग्रह गरेको छ।
भारतको धारचुलास्थित धौलीगङ्गा जलविद्युत् परियोजनामा शनिबारदेखि सोमबारसम्म सिल्ट सफाइ गर्ने क्रममा बाँधको ढोका खोलिने भएकाले महाकाली नदीको जलस्तर बढ्न सक्ने सम्भावना रहेको प्रशासनले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार ४८ घण्टासम्म सिल्ट सफाइका लागि बाँधको ढोका खोलिने भएकाले नदीको जलस्तर बढ्न सक्छ।
प्रशासनले शनिबार राति १ बजेदेखि सोमबार राति १ बजेसम्म तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।