क्रान्तिशिखा धितालको प्रश्न–‘हामीलाई दुःखको लत लागेको हो?’
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले देशमा भइरहेका शृङ्खलाबद्ध घटनामा राज्य र समाजको क्षणिक चासोप्रति प्रश्न उठाएकी छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै धितालले एउटा घटनाको पीडा सेलाउन नपाउँदै अर्को घटना प्राथमिकतामा पर्ने प्रवृत्तिले न्यायको खोजी ओझेलमा परेको बताइन्। पछिल्लो समय बजारमा आउने नयाँ ‘ट्रेन्ड’सँगै न्यायका विषय पनि प्रतिस्थापित हुने गरेको उनको भनाइ थियो।
उनले जेन–जी आन्दोलन, मधेसको साम्प्रदायिक दङ्गा, गणेशको आत्मदाह, गरिमाको बलात्कारपछिको हत्या तथा रसुवाको बाढीजस्ता घटनाको भीडमा सुकुमबासीका पीडा र बाढीमा बेपत्ता बालबालिकाको खोजी ओझेलमा परेको बताइन्।
‘देशमा एउटा दुःख आउँछ, केही दिन हामी चासो दिन्छौँ। तर अर्को घटना सार्वजनिक हुनासाथ अघिल्लो पीडा बिस्तारै ओझेलमा पर्छ। हामीलाई एक प्रकारले दुःखको लत लागेको छ,’ उनले भनिन्।
राज्य अरूको दुःखमा केवल टेको लगाउने नभई पीडितको टेको बन्नुपर्नेमा जोड दिँदै धितालले केही दिनको सहानुभूतिमा मात्र सीमित नभई पीडितको जीवन सामान्य नहुञ्जेल परिणाममुखी ढङ्गले साथ दिन सरकारसँग आग्रह गरिन्।
राज्यको उपस्थिति औपचारिकतामा मात्र सीमित हुन नहुने भन्दै उनले पीडितको जीवनमा वास्तविक र सकारात्मक परिवर्तन ल्याउने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराइन्।