ध्रुवराज राईको रास्वपालाई आग्रह–‘आफ्नै सरकार नढाल्नुहोला’
काठमाडौं । प्रतिपक्षी दल श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नै सरकार ढल्ने अवस्था आउन नदिन सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले आगामी अधिवेशनमा अघिल्लो अधिवेशनजस्तो हेलचेक्र्याइँ नगर्न सरकारलाई सुझाव दिए। उनले सरकारले विपक्षीका मागलाई बेवास्ता गर्ने अवस्था दोहोरिन नहुने बताए।
राईले पछिल्लो अधिवेशनमा सरकारका मन्त्रीहरूले जवाफ दिए पनि सरकार प्रमुखबाट विपक्षीले खोजेको जवाफ नपाएको बताए। अधिवेशन सकिँदा आफू जनतामाझ उत्साहका साथ फर्किन नसकेको उनको भनाइ थियो।
सरकारको यस्तै रवैया कायम रहेमा भदौ २३–२४ गतेको आन्दोलनजस्तो अवस्था पुनः आउन सक्ने भन्दै उनले सरकारलाई सचेत गराए।
उनले विगतको आन्दोलनमा पुराना भनिएका दलहरूको व्यवहार र भ्रष्टाचारविरुद्ध जनआक्रोश देखिएको उल्लेख गर्दै अब त्यस्तो अवस्था दोहोरिन नदिन सरकार जिम्मेवार बन्नुपर्ने बताए।