म्यादी प्रहरीको कपडा खरिदबारे अध्ययन गर्न नौ सदस्यीय समिति गठन
काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीका लागि कपडा खरिदमा भएको भनिएको विवाद तथा अनियमितताबारे अध्ययन गर्न नौ सदस्यीय समिति गठन गरेको छ।
शुक्रबार बसेको लेखा समितिको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो। समितिलाई दुई महिनाभित्र अध्ययन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ।
अध्ययन समितिमा ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य रहेका छन्।
म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी विषयमा छानबिन समिति गठन गर्ने कि अध्ययन समिति बनाउने भन्ने विषयमा सांसदहरूबीच मतभेद देखिएको थियो। सांसद खगेन्द्र सुनारले अनियमितताको प्रश्न उठिसक्दा पनि समितिले प्रभावकारी चासो नदेखाएको भन्दै असन्तुष्टि जनाएका थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले भने सामाजिक सञ्जाल वा बाहिर आएका कुराका आधारमा निष्कर्षमा पुग्न नहुने बताउँदै उपलब्ध तथ्य र कागजातको अध्ययनपछि मात्रै थप अनुसन्धान आवश्यक छ कि छैन भन्ने निर्णय गर्नुपर्ने धारणा राखेकी थिइन्।
नेकपा (एमाले) का सांसद ऐन महरले पनि प्रहरी संस्थामाथि उठेका प्रश्नको निरूपण आवश्यक रहेको बताउँदै तत्काल छानबिन समितिभन्दा अध्ययन तथा अन्वेषण समिति गठन गर्नुपर्ने प्रस्ताव गरेका थिए।
सांसदहरूबीचको सहमतिपछि गठन भएको समितिले सम्बन्धित कागजात तथा तथ्यहरूको अध्ययन गरी मूल समितिलाई प्रतिवेदन बुझाउनेछ।