नेपाल एयरलाइन्स राजनीतिक हस्तक्षेपका कारण बिग्रियो : मन्त्री पौडेल
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले विगतदेखि नै राजनीतिक हस्तक्षेपका कारण नेपाल एयरलाइन्सको अवस्था कमजोर बनेको बताएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले निगममा विगतमा राजनीतिक हस्तक्षेप भएकाले अब सकारात्मक हस्तक्षेप आवश्यक रहेको बताए।
महाप्रबन्धक नियुक्तिसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले हाल महाप्रबन्धक नियुक्त गर्न कानुनी अड्चन रहेको उनले जानकारी दिए। निगमका ६ वटा जहाजमध्ये एउटामा मात्रै समस्या आउँदा पनि उडान तालिका फेरबदल र यात्रु व्यवस्थापनका लागि ठूलो रकम खर्च हुने गरेको उनको भनाइ थियो।
विद्यमान परिपाटी र संरचनाबाट मात्रै जहाज थपेर निगमको समस्या समाधान नहुने भन्दै मन्त्री पौडेलले पहिला संरचनागत सुधार आवश्यक रहेको बताए।
नेपाल एयरलाइन्सलाई अघि बढाउन साहसिलो निर्णय आवश्यक रहेको उल्लेख गर्दै उनले यो विषय केवल सरकारी निर्णयबाट मात्रै सम्भव नहुने धारणा राखे।
बैठकमा समिति सदस्यहरूले नेपाल एयरलाइन्सको व्यवस्थापन कमजोर रहेको भन्दै निगम सुधारका लागि आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका थिए।