संज्ञा पौडेल कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुन सकिनन्।
महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार बनेकी संज्ञाले २८९ मत प्राप्त गरेकी थिइन्। तर, आवश्यक मत प्राप्त गर्न नसक्दा उनी प्रतिनिधिमा चयन हुन नसकेकी हुन्।
यसअघि संज्ञाको नाम प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सूचीमा समावेश भएको थियो। त्यसपछि विरोध भएपछि उनले उम्मेदवारी फिर्ता लिएकी थिइन्। उम्मेदवारी फिर्ता लिएपछि पनि उनी कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएकी थिइन्।
कांग्रेस सभापतिमा गगन थापा निर्वाचित भएपछि भने संज्ञा पार्टी गतिविधिमा तुलनात्मक रूपमा कम सक्रिय देखिएकी थिइन्। यद्यपि, उनले थापा नेतृत्वलाई समर्थन गर्दै आएको बताइएको छ।
कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंको खुलामञ्चमा १५औँ महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ। महाधिवेशनलाई लक्षित गर्दै पार्टीका विभिन्न समूहले आ–आफ्ना गतिविधि अघि बढाइरहेका छन्।