चार समस्याग्रस्त सहकारीका २२३ बचतकर्ताको रकम फिर्ता
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले चारवटा समस्याग्रस्त सहकारीका २२३ जना बचतकर्ताको रकम फिर्ता गरेको छ।
समितिका अनुसार शिव शिखर, कान्तिपुर, कृषि विकास र गोर्खा सहकारीका साना बचतकर्ताको रकम पहिलो चरणमा फिर्ता गरिएको हो।
सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम नै सम्बन्धित पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ।
पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। अब बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरी क्रमशः रकम फिर्ता गर्दै जाने तयारी गरिएको छ।
समितिका अनुसार समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट बचतकर्तालाई रकम फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्थाअनुसार निरन्तर भइरहेको छ।