कालीगण्डकीको बाढीले फर्से बगर बनायो, पुनःस्थापनाको पर्खाइमा पीडित
पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा असोज ११ गते आएको कालीगण्डकीको बाढीले करिब एक सय परिवार प्रभावित भएका छन्। बाढीले ७५ घर पूर्ण रूपमा बगाएको र २७ घर जोखिममा रहेको गाउँपालिकाले जनाएको छ।
वर्षौँको मेहनतले बनाएका घर, गोठ, गाईभैँसी तथा धनसम्पत्ति गुमाएपछि स्थानीय विस्थापित भएका छन्। पूर्वसूचनाका कारण स्थानीयले समयमै सुरक्षित स्थानमा गएर ज्यान जोगाउन सफल भए पनि भौतिक क्षति ठूलो भएको छ।
बाढीले फर्से र बागलुङको ढोडेनी जोड्ने करिब एक सय वर्ष पुरानो झोलुङ्गे पुलसमेत बगाएको छ। कृषि तथा पशुपालनमा निर्भर स्थानीयको जीविकोपार्जनसमेत प्रभावित भएको छ।
गाउँपालिकाले प्रभावित परिवारका लागि अस्थायी शिविर, राहत वितरण, स्वास्थ्य शिविर र मनोसामाजिक परामर्शको व्यवस्था गरेको जनाएको छ। स्थानीयले सुरक्षित बसोबास, नदी नियन्त्रण र दीर्घकालीन पुनःस्थापनाको योजना बनाउन सरकारसँग माग गरेका छन्।