नापी कार्यालयका सर्भेक्षक श्रेष्ठविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगले श्रेष्ठले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिको बिगो ४ करोड ७४ लाख ४६ हजार ८१३ रुपैयाँ ४९ पैसा कायम गरेको छ। उक्त सम्पत्तिको केही हिस्सा उनकी श्रीमती कमला श्रेष्ठको नाममा समेत राखिएको आयोगको दाबी छ।
आयोगका अनुसार पदीय मर्यादाविपरीत कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा श्रेष्ठमाथि अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा श्रेष्ठ नियुक्त भएको मिति २०५३ असार २७ देखि २०८१ चैत २९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरिएको थियो।
सो अवधिमा श्रेष्ठ तथा उनका एकाघर परिवारका सदस्यको आय, व्यय, लगानी तथा सम्पत्तिको विस्तृत विश्लेषण गरिएको आयोगले जनाएको छ। वैध आयस्रोत र विभिन्न शीर्षकमा भएको खर्च तथा लगानीबीच तुलना गर्दा आयस्रोतले पुष्टि गर्न नसक्ने सम्पत्ति आर्जन गरेको देखिएको आयोगको दाबी छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार श्रेष्ठविरुद्ध साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुरमा अभियोग लगाइएको हो।
आयोगले श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐनबमोजिम कैद सजाय, कायम गरिएको बिगोबमोजिम जरिवाना तथा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न मागदाबी गरेको छ।
त्यस्तै, उनकी श्रीमती कमलाका नाममा रहेको गैरकानुनी रूपमा आर्जित सम्पत्तिसमेत सम्बन्धित कानुनी प्रावधानबमोजिम जफत गर्न मागदाबी गरिएको आयोगले जनाएको छ।
आयोगले गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति लुकाउने वा अन्य व्यक्तिका नाममा राख्ने कार्यसमेत अनुसन्धानको दायरामा ल्याइएको जनाएको छ। सोही आधारमा श्रेष्ठ र उनकी श्रीमतीका नाममा रहेको सम्पत्तिसम्बन्धी विवरणसमेत अनुसन्धान गरी कानुनी कारबाहीका लागि आरोपपत्र दायर गरिएको हो।