रेलेखोला बाँधमा बाढी पसेपछि जलविद्युत आयोजना बन्द
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजना बाढी र पहिरोका कारण बन्द भएको छ।
आयोजनाको रेलेखर्क फेदीमा रहेको बाँध (इन्टेक) मा बाढी पसेर भौतिक संरचनामा क्षति पुगेपछि विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको हो। ह्युम कन्सल्ट प्रा.लि. प्रवर्द्धक रहेको आयोजनाका प्रमुख दार्शनिक काफ्लेका अनुसार असोज ८ देखि ११ गतेसम्म परेको वर्षासँगै आएको बाढी र पहिरोका कारण आयोजना बन्द भएको हो।
रेलेखर्क क्षेत्रमा पहिरो खसेपछि रेलेखोलामा बाढीको सतह बढेको थियो। बाढीले बाँध क्षेत्रमा ठूलो मात्रामा ढुंगा, माटो तथा गेग्रान थुपारेको छ।
दुर्गम र विकट क्षेत्रमा रहेको बाँधस्थलसम्म पुग्ने पहुँचमार्गसमेत पहिरोका कारण अवरुद्ध भएकाले बाढी तथा गेग्रान हटाएर आयोजना सञ्चालनमा ल्याउन कठिनाइ भएको आयोजनाले जनाएको छ।
बाढीका कारण बाँधका भौतिक संरचनामा क्षति पुगेपछि विद्युत बिक्रीसमेत प्रभावित भएको छ। गत वर्ष निर्माण सम्पन्न भएको आयोजना २२० केभी क्षमताको दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो।
यसैबीच, कालीगण्डकी क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण प्रसारण लाइनका टावर बग्नुका साथै तार चुँडिएरसमेत क्षति पुगेको जनाइएको छ।
आयोजना पुनः सञ्चालनका लागि बाँध क्षेत्रमा थुप्रिएको गेग्रान हटाउने तथा क्षतिग्रस्त संरचना मर्मत गर्ने काम आवश्यक देखिएको छ।