विराटनगरमा कोठाभित्र पुरुषको शव फेला
विराटनगर महानगरपालिका–१६ ब्रह्माटोलमा एक पुरुष आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परेका छन्। स्थानीय ४० वर्षीय बब्लु श्रेष्ठ आफ्नै कोठाभित्र मृत फेला परेको प्रहरीले जनाएको छ। कोठाबाट दुर्गन्ध आउन थालेपछि स्थानीयले इलाका प्रहरी कार्यालय विराटनगर रानीमा खबर गरेका थिए।
सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले श्रेष्ठको शव कोठाबाट निकालेर पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाएको छ।
मृतकका आफन्तका अनुसार श्रेष्ठको चार–पाँच दिनअघि नै मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। प्रहरीले शव सडेको अवस्थामा फेला परेको जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा करेन्ट लागेर मृत्यु भएको हुनसक्ने आशंका गरिए पनि मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मुकेन्द्र सिंह मिश्रले जानकारी दिए।