बाढीपहिरोबाट क्षतिग्रस्त सडक र पुल तत्काल मर्मत गर्न सांसदको माग
काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले बाढीपहिरोबाट क्षतिग्रस्त सडक, पुल तथा अन्य संरचना तत्काल मर्मत गर्न सरकारसँग आग्रह गरेका छन्।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले विपद् प्रभावित क्षेत्रमा आवतजावत सहज बनाउन, प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा अवरुद्ध सडक सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
सांसद गोमादेवी तिमिल्सिनाले भोटेकोशी बाढीबाट ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै बाढीका कारण रोकिएका कन्टेनरलाई सम्बन्धित नाकासम्म पुर्याउन आवश्यक सहजीकरण गर्न माग गरिन्। जगतबहादुर पार्कीले कञ्चनपुरको दादरा–चाँदनी पुल क्षतिग्रस्त हुँदा करिब ५० हजार जनाको आवतजावत प्रभावित भएको भन्दै तत्काल मर्मत गर्न आग्रह गरे।
नरबहादुर विष्टले भोटेचौर क्षेत्रमा अवरुद्ध सडक सञ्जाल तत्काल सञ्चालनमा ल्याउन माग गरे। राजेन्द्रलक्ष्मी गैरेले असोज ८ देखि ११ गतेसम्मको बाढीपहिरोबाट अवरुद्ध सडक तथा बाटो मर्मत गर्न र प्रभावित किसानलाई क्षतिपूर्ति दिन आग्रह गरिन्।
दसैँको समयमा सर्वसाधारणको आवतजावत सहज बनाउन क्षतिग्रस्त सडक तथा बाटोघाटो तत्काल मर्मत गर्नुपर्नेमा सुरेशकुमार आलेमगरले जोड दिए।
बैठकमा सांसद भुवनबहादुर सुनुवारले दलितसम्बन्धी ऐन निर्माण प्रक्रिया अघि बढाउन, युवराज शर्माले जलवायु न्यायका विषयमा अन्तर्राष्ट्रियस्तरमा आवाज उठाउन तथा मदनकुमारी शाह गरिमाले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।