बागमती नीति तथा योजना आयोगको उपाध्यक्षमा देवराज रोका नियुक्त
बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा देवराज रोका नियुक्त भएका छन्। काठमाडौंको पेप्सीकोलाका स्थायी बासिन्दा रोकालाई मुख्यमन्त्री किरण थापा मगरले उपाध्यक्षमा नियुक्त गरेका हुन्।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले रोकासहित आयोगका तीन सदस्यसमेत नियुक्त गरेको छ। आयोगको सदस्यमा सुनिता गौतम, दीपक विक्रम थापा र सुरेन्द्रवर सिंह थापा नियुक्त भएका छन्।
नवनियुक्त उपाध्यक्ष रोका र सदस्य दीपक विक्रम थापा नेकपा एमालेको सिफारिसमा नियुक्त भएका हुन्। त्यस्तै, सुरेन्द्रवर सिंह थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तथा सुनिता गौतम नेकपाको सिफारिसमा नियुक्त भएको जनाइएको छ।
नवनियुक्त उपाध्यक्ष रोका तथा सदस्यद्वयले पद तथा गोपनीयताको शपथ लिएका छन्। आयोगमा नियुक्त भएकी एक सदस्यको भने केही समयपछि शपथ हुने जनाइएको छ।
नवनियुक्त पदाधिकारीले प्रदेशको नीति निर्माण, योजना तर्जुमा तथा विकाससम्बन्धी काममा आयोगको भूमिका प्रभावकारी बनाउने जिम्मेवारी पाउनेछन्।