एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनलाई २४ अर्ब डलरको सम्झौता
काठमाडौं । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले एसएम–६ क्षेप्यास्त्रको उत्पादन बढाउन रेथियोनलाई २४ अर्ब ४० करोड अमेरिकी डलरको सम्झौता दिने घोषणा गरेको छ।
पेन्टागनका अनुसार इरानविरुद्धको सैन्य कारबाहीमा प्रयोग भएको हतियारको भण्डार पुनःपूर्ति गर्न उत्पादन क्षमता बढाउन लागिएको हो। पाँच वर्षका लागि हुने सम्झौतामा थप दुई वर्षका विकल्पसमेत राखिएका छन्।
पेन्टागनले एसएम–६ लाई हवाई प्रतिरक्षा तथा सतहविरुद्ध प्रयोग हुने महत्त्वपूर्ण क्षेप्यास्त्रका रूपमा उल्लेख गरेको छ। सम्झौताले रक्षा उद्योगलाई जनशक्ति तथा आपूर्ति शृङ्खला विस्तारका लागि दीर्घकालीन योजना बनाउन सहयोग पुग्ने जनाएको छ।
अमेरिकी रक्षा विभागका महानिरीक्षकले गत महिना इरानविरुद्धको ‘अपरेसन एपिक फ्युरी’ मा भएको हतियार खर्चले रणनीतिक भण्डारमा कमी ल्याएको बताएका थिए। कङ्ग्रेसनल बजेट कार्यालयले पनि सेप्टेम्बर १५ मा सार्वजनिक गरेको प्रतिवेदनमा अमेरिकासँग धेरै वर्षसम्म इन्टरसेप्टर क्षेप्यास्त्रको सीमित भण्डार रहने उल्लेख गरेको थियो।
रेथियोनले एसएम–६ अमेरिकी नौसेनाका पानीजहाज तथा स्थलबाट प्रक्षेपण गर्ने प्रणालीबाट प्रयोग हुँदै आएको जनाएको छ। कम्पनीले उत्पादन क्षमता बढाउन आफ्ना सञ्चालन तथा उत्पादन केन्द्रमा निरन्तर लगानी भइरहेको जनाएको छ।