मतदाता सूची संशोधनको विरोधमा भारतमा ‘कक्रोच’ आन्दोलनको प्रदर्शन
काठमाडौं । भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध गर्दै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागसहित शुक्रबार मुम्बईमा प्रदर्शन गर्ने भएको छ।
आन्दोलनले निर्वाचन प्रक्रिया, सरकारी जवाफदेहिता तथा लोकतान्त्रिक संस्थासम्बन्धी विषयलाई समेत आफ्नो अभियानमा समेट्दै आएको छ। विद्यार्थी तथा नागरिक समाजका समूहले पनि समान मागसहित नयाँदिल्लीको जन्तर मन्तरमा प्रदर्शन गर्ने तयारी गरेका छन्।
भारतको निर्वाचन आयोगले अघि बढाएको मतदाता सूचीको ‘विशेष गहन संशोधन’ लाई लिएर आयोगमाथि दबाब बढेको छ। आलोचक तथा विपक्षी दलहरूले संशोधनमार्फत प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीलाई फाइदा पुग्ने गरी मतदाता सूचीमा परिवर्तन गर्न खोजिएको आरोप लगाएका छन्। निर्वाचन आयोग र सरकारले भने कुनै अनियमितता नभएको बताउँदै आएका छन्।
बिहारबाट सुरु भएको मतदाता सूची संशोधन अभियान अहिले अधिकांश राज्य तथा सङ्घीय प्रशासित क्षेत्रमा विस्तार भएको छ। आलोचकहरूले आवश्यक कागजात जुटाउन कठिन हुँदा लाखौँ योग्य मतदाता सूचीबाट छुट्न सक्ने आशंका व्यक्त गरेका छन्। आयोगले भने दोहोरो तथा अयोग्य नाम हटाउँदै योग्य मतदातालाई सूचीमा कायम राख्नु संशोधनको उद्देश्य रहेको जनाएको छ।
यसअघि ‘कक्रोच’ आन्दोलनले युवा बेरोजगारी तथा परीक्षाका प्रश्नपत्र चुहावटविरुद्ध प्रदर्शन गरेको थियो। शिक्षा क्षेत्रका मुद्दाबाट चर्चामा आएको उक्त आन्दोलनले पछिल्लो समय निर्वाचन प्रक्रिया र लोकतान्त्रिक संस्थासम्बन्धी विषयलाई समेत आफ्नो अभियानमा समेटेको हो।