पाकिस्तानमा पोलियोविरुद्ध राष्ट्रव्यापी अभियान सफल, ४ करोड ४० लाख बालबालिकालाई खोप
एजेन्सी । पाकिस्तानमा सन् २०२६ को पहिलो राष्ट्रव्यापी पोलियोविरोधी खोप अभियान सफलतापूर्वक सम्पन्न भएको छ। अभियानअन्तर्गत देशभरका चार करोड ४० लाखभन्दा बढी बालबालिकालाई पोलियो खोप लगाइएको राष्ट्रिय आपतकालीन अपरेसन सेन्टरले जनाएको छ।
आधिकारिक तथ्यांकअनुसार पूर्वी पञ्जाब प्रान्तमा दुई करोड २९ लाख, दक्षिणी सिन्ध प्रान्तमा एक करोड पाँच लाख, उत्तरपश्चिम खैबर पख्तुनख्वामा ७१ लाख ३० हजार र दक्षिणपश्चिम बलुचिस्तानमा २३ लाख ६० हजारभन्दा बढी बालबालिकालाई खोप लगाइएको हो।
यसैगरी संघीय राजधानी इस्लामावादमा चार लाख ५५ हजार, उत्तरी गिलगिट–बाल्टिस्तान क्षेत्रमा करिब दुई लाख ६१ हजार र कश्मीरमा छ लाख ७३ हजारभन्दा बढी बालबालिकाले खोप पाएका छन्।
स्वास्थ्य अधिकारीहरूले अभियानमा संलग्न सबै सहयोगी संस्थाहरू र स्वयंसेवकहरूलाई धन्यवाद दिँदै यसलाई पोलियो उन्मूलनतर्फको महत्वपूर्ण कदमका रूपमा उल्लेख गरेका छन्।
विश्वका अधिकांश देशमा पोलियो उन्मूलन भइसके पनि पाकिस्तानमा अझै चुनौती कायम रहेको भन्दै अधिकारीहरूले दिगो, उच्च गुणस्तरीय अभियान र सीमापार समन्वयमार्फत मात्रै पोलियोको पूर्ण उन्मूलन सम्भव हुने बताएका छन्।