सेयर बजारमा ओरालो निरन्तर, नेप्से १०.२५ अंक घट्दा कारोबार पनि खुम्चियो
काठमाडौं: सेयर बजारको ओरालो यात्रा मंगलबार पनि कायम रहँदा नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक १०.२५ अंक घटेर २६६२.१४ बिन्दुमा झरेको छ। मंगलबार कारोबार सुरु हुँदा नेप्से २६७२.३९ अंकमा थियो।
यस दिन बजारसँगै कारोबार रकममा पनि गिरावट आएको छ। नेप्से अनुसार मंगलबार ८ अर्ब ६१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ, जुन सोमबारको तुलनामा कम हो। सोमबार १० अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।
मंगलबार १७९ कम्पनीको सेयर मूल्य घट्दा ७४ कम्पनीको बढेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ। अधिकांश कम्पनीको मूल्य घटेपछि समग्र बजार सूचक नकारात्मक बनेको हो।
समूहगत परिसूचकतर्फ पनि अधिकांश सूचक ओरालो लागेका छन्। बैंकिङ १.३२, विकास बैंक ६५.६७, वित्त २२.७१, होटल ३५.६५, जलविद्युत् ९.०५, जीवन बीमा ९८.४४, उत्पादनमूलक ५९.७०, लघुवित्त २४.१७, निर्जीवन बीमा ६८.५६ र अन्य समूह ८.२३ अंक घटेका छन्। सामूहिक लगानी कोष ०.०४ र व्यापार समूह भने १९.७० अंकले बढेका छन्।
यस दिन नेप्सेमा ३२४ कम्पनीका २ करोड १७ लाख १५ हजार ८ सय ६८ कित्ता सेयर ८९ हजार ८ सय ३६ कारोबारमार्फत खरिद बिक्री भएको छ।