नेपालमा किन कमजोर रह्यो भ्रष्टाचारविरुद्धको लडाइँ?
ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले सार्वजनिक गरेको भ्रष्टाचार धारणा सूचकाङ्क (सीपीआई) २०२५ अनुसार नेपालले भ्रष्टाचार नियन्त्रणमा कुनै उल्लेखनीय प्रगति गर्न सकेको छैन। प्रतिवेदनअनुसार यस वर्ष पनि नेपालको स्कोर ३४ अङ्कमै सीमित रहेको छ, जुन अघिल्लो वर्षकै बराबर हो।
टीआई नेपालका अध्यक्ष मदनकृष्ण शर्माका अनुसार लामो समयदेखि नेपालको स्कोर ३५ भन्दा कममै अड्किएको छ, जसले भ्रष्टाचारविरुद्धको प्रयास कमजोर रहेको संकेत गर्छ। सूचकाङ्कमा १०० अङ्कले भ्रष्टाचाररहित अवस्था र शून्य अङ्कले अत्यधिक भ्रष्ट अवस्थालाई जनाउँछ।
उनका अनुसार सत्तामा पुगेका नेतृत्वले भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी काम गर्न नसक्दा जनतामा निराशा बढ्दै गएको छ। हालै देखिएको जेनजी तथा युवा आन्दोलन पनि बढ्दो भ्रष्टाचार, शक्ति दुरुपयोग, बेरोजगारी र सार्वजनिक सेवामा पहुँच नहुनुको परिणाम भएको उनको भनाइ छ।
दक्षिण एशियाली मुलुकहरूमध्ये भूटानले ७१ अङ्क प्राप्त गर्दै राम्रो स्थिति देखाएको छ भने भारत र माल्दिभ्सले समान ३९, श्रीलङ्काले ३५, पाकिस्तानले २८, बंगलादेशले २४ र अफगानिस्तानले १६ अङ्क प्राप्त गरेका छन्। नेपाल भने ३४ अङ्कसहित कमजोर अवस्थामै रहेको देखिएको छ।
विश्वव्यापी रूपमा पनि भ्रष्टाचार नियन्त्रणमा उल्लेखनीय सुधार देखिएको छैन। सर्वेक्षणमा समेटिएका १८२ देशमध्ये अधिकांश देशको अवस्था खस्किँदै गएको प्रतिवेदनमा उल्लेख छ। टीआईले राजनीतिक नेतृत्वलाई भ्रष्टाचारविरुद्ध दृढ प्रतिवद्धता जनाउन, कानूनको कडाइका साथ कार्यान्वयन गर्न र नियमनकारी निकाय सुदृढ बनाउन आग्रह गरेको छ।