गजेन्द्रनारायणको शालिकमा गाडीबाटै माला फ्याँक्दा बालेन्द्र विवादमा
सप्तरीको राजविराजमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहले मधेशका सम्मानित नेता स्वर्गीय गजेन्द्रनारायण सिंहको शालिकमा गाडीमै बसेर माला फ्याँक्दा विवाद उत्पन्न भएको छ।
मंगलबार राजविराजमा बालेन्द्र आफ्नो चुनावी अभियानका क्रममा गाडीको सनरुफबाट हात हल्लाउँदै शालिकतर्फ माला फ्याँके। समर्थकहरूले उनलाई शालिक नजिक ओर्लेर माल्यार्पण गर्ने अपेक्षा गरेका थिए, तर उनले गाडीमै रहँदै माला फ्याँक्दा समर्थकहरू निराश भए।
नागरिक उन्मुक्ति पार्टी नेपालका नेता जीवछ यादवले यस घटनाप्रति असन्तुष्टि व्यक्त गर्दै भनेका छन्, “मधेशको माटो, संवेदना र आदर्शमाथि पटक–पटक प्रहार हुनु अब ‘भूल’ मात्र होइन, यो रास्वपाको सोचि–सम्झी रचिएको ‘साजिस’ जस्तो देखिन्छ। शालिकमा माला लगाउनु श्रद्धा हो, ‘टार्गेट प्राक्टिस’ होइन।”
बालेन्द्रको यस व्यवहारले सामाजिक सञ्जाल र स्थानीय राजनीतिक वृत्तमा विवाद र आलोचना बढाएको छ।