सरकारको आम्दानी लक्ष्यभन्दा झन्डै २ खर्ब कम हुने अनुमान
काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारको आम्दानी लक्ष्यभन्दा झन्डै २ खर्ब रुपैयाँ कम हुने अनुमान गरिएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको अर्धवार्षिक समीक्षा प्रतिवेदन अनुसार कर, गैरकर तथा विविध प्राप्तिबाट हुने कुल आम्दानी १२ खर्ब ९८ अर्ब रुपैयाँमा सीमित हुने प्रक्षेपण गरिएको हो।
सरकारले सुरुमा १४ खर्ब ८० अर्ब रुपैयाँ आम्दानी लक्ष्य राखेको थियो। तर, पुस मसान्तसम्म ५ खर्ब १६ अर्ब रुपैयाँ मात्र कर राजस्व संकलन भएको छ।
अर्थ मन्त्रालयका अनुसार बाँकी ६ महिनामा ६ खर्ब ५० अर्ब रुपैयाँ कर राजस्व उठ्ने अनुमान गरिएको छ भने गैरकर राजस्व १ खर्ब २७ अर्ब रुपैयाँ रहने प्रक्षेपण छ।
आर्थिक वर्षको बाँकी अवधिमा हुने निर्वाचनका कारण खर्च तथा आर्थिक गतिविधि बढ्ने, जसले राजस्व संकलनमा सकारात्मक असर पार्ने अर्थ मन्त्रालयको अपेक्षा छ। साथै, वैदेशिक व्यापारमा देखिएको सुधार र आगामी बजेट केन्द्रित गतिविधिले पनि राजस्व वृद्धिमा सहयोग पुग्ने मन्त्रालयले जनाएको छ।