नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक, चालु आवमा १ खर्बभन्दा बढी बढ्यो
काठमाडौं — नेपालमा सार्वजनिक ऋण चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म २७ खर्ब ८८ अर्ब ५३ करोड २१ लाख रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड ७७ लाख रुपैयाँ थियो।
केन्द्रीय कार्यालयका तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा १ खर्ब १४ अर्ब ४८ करोड ४४ लाख रुपैयाँ सार्वजनिक ऋण थपिएको छ। मंसिर मसान्तसम्म सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (GDP) को ४५.६६ प्रतिशत पुगेको छ।
सार्वजनिक ऋणमध्ये कुल गार्हस्थ्य उत्पादनको २१.३१ प्रतिशत अर्थात् १३ खर्ब १ अर्ब ६३ करोड १० लाख रुपैयाँ आन्तरिक ऋण हो भने २४.३५ प्रतिशत अर्थात् १४ खर्ब ८६ अर्ब ९० करोड ११ लाख रुपैयाँ वैदेशिक ऋण रहेको छ।
सरकारले चालु आर्थिक वर्षमा कुल ५ खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण प्राप्त गर्ने लक्ष्य राखेको थियो। समीक्षा अवधिसम्म यसमध्ये २९.४० प्रतिशत मात्र परिचालन भएको छ। परिचालन भएको ऋणमा आन्तरिक ऋणको हिस्सा ४०.७९ प्रतिशत र बाह्य ऋणको हिस्सा ११.७५ प्रतिशत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।
विश्लेषकहरूले सार्वजनिक ऋण बढ्दा अर्थतन्त्रमा दबाब पर्न सक्ने र दीर्घकालीन आर्थिक स्थायित्वका लागि रणनीतिक व्यवस्थापन आवश्यक भएको बताएका छन्।