राप्रपाले २३ मंसिरको प्रदर्शनमा सहभागी हुन आह्वान
काठमाडौं, १९ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाहीले २३ मंसिरमा आयोजना हुने वृहत प्रदर्शनमा सहभागी हुन सबै नागरिकलाई आह्वान गरेका छन्।
शाहीले पत्रकार सम्मेलनमा बताएअनुसार, प्रदर्शन राप्रपाको आयोजना भए पनि सबैलाई राष्ट्रिय झण्डामा एकजुट भएर उपस्थित हुन आग्रह गरिएको छ। उनले जेनजी युवाहरूले सडकमा युद्ध जिते पनि सम्झौतामा हार व्यहोरेको दाबी गरे।
राप्रपाले नेपालको संवैधानिक राजसंस्था आवश्यक रहेको ठानेको छ। शाहीले जापान, बेलायत, नेदरल्यान्ड, अष्ट्रेलिया र क्यानडाको जस्तो संवैधानिक राजसंस्था नेपालमा लागू गर्नु पर्ने बताएका छन्।
उनका अनुसार, प्रदर्शनका मागमा प्रदेश संरचना खारेज, हिन्दु, बुद्ध, किरातसहितको हिन्दु अधिराज्य स्थापना, संवैधानिक राजसंस्था कायम, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द, स्थानीय तह गैरदलीय बनाउन र भ्रष्टाचारीलाई आजीवन कारावास गर्नेजस्ता माग समावेश छन्।
शाहीले संविधान, कानुन र ऐनमा कमजोरी रहेको भन्दै, माग पूरा नभए सडक आन्दोलन सुरु गरिने चेतावनी दिएका छन्।