कलंकीस्थित एनबीटीसी कम्प्लेक्समा आगलागी, चार दिनका लागि बन्द
काठमाडौंको कलंकीस्थित एनबीटीसी कम्प्लेक्समा आगलागी हुँदा पसलसहित कम्प्लेक्सका विभिन्न संरचनामा क्षति पुगेको छ।
कम्प्लेक्स व्यवस्थापनका अनुसार असोज २२ गते आइतबार राति १० बजे कम्प्लेक्सको नवौँ तलामा रहेको एलसी ७ (४०३४) नम्बरको पसलमा आगलागी भएको थियो।
आगलागीबाट उक्त पसलसहित कम्प्लेक्सका अन्य पसलमा समेत क्षति पुगेको छ। आगलागीका कारण पाइपिङ तथा सिलिङमा व्यापक क्षति भएको व्यवस्थापनले जनाएको छ।
त्यस्तै, कम्प्लेक्सका विभिन्न स्थानमा धुवाँ, सिसाका टुक्रा तथा धुवाँको गन्ध रहेकाले पसल सञ्चालन र आवतजावत असुरक्षित बनेको छ।
यसैलाई मध्यनजर गर्दै व्यवस्थापनले असोज २३ गतेदेखि २६ गतेसम्म कम्प्लेक्स पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको जनाएको छ।