सुर्खेतमा जुवा खेलिरहेको अवस्थामा ५५ जना पक्राउ, साढे १२ लाख रुपैयाँ बरामद
सुर्खेतमा जुवा खेल्ने तथा सट्टाबाजी गर्ने गरेको आरोपमा प्रहरीले ५५ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिकाका विभिन्न स्थानमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार कात्तिक २२ गते राति वीरेन्द्रनगरका विभिन्न स्थानमा नगद रकम राखेर हारजित हुने गरी जुवा खेलिरहेको गोप्य सूचना प्राप्त भएपछि कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले खानतलासी गरेको थियो।
खानतलासीका क्रममा प्रहरीले नेपाली रुपैयाँ १२ लाख ३२ हजार ८४५ र भारतीय रुपैयाँ १३ हजार १२५ बरामद गरेको छ। भारतीय रुपैयाँलाई नेपालीमा रूपान्तरण गर्दा २१ हजार रुपैयाँ हुने भएकाले कुल १२ लाख ५३ हजार ८४५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
त्यस्तै, जुवा खेल्न प्रयोग गरिएका ५२ पत्तीका ५३ गड्डी ताससमेत बरामद गरिएको छ।
पक्राउ परेका व्यक्तिहरूको नाम, ठेगाना र उमेरसहितको विवरण प्रहरीले सार्वजनिक गरेको छ। उनीहरू सुर्खेतसहित दैलेख, जुम्ला, बर्दिया, कैलाली, अर्घाखाँची तथा भारतका विभिन्न स्थानका बासिन्दा रहेको प्रहरीले जनाएको छ।