मोरङमा श्रीमानको हत्या आरोपमा श्रीमतीसहित दुई जना पक्राउ
मोरङमा रड प्रहार गरी श्रीमानको हत्या गरेको आरोपमा श्रीमतीसहित दुई जना पक्राउ परेका छन् ।
जिल्लाको जहदा गाउँपालिका–२, मोहनपुरमा ४० वर्षीय बुधराम सोरेनको हत्या गरेको आरोपमा उनकी ३५ वर्षीया श्रीमती कमली बास्के र भारतको बिहार निवासी २७ वर्षीय सुनिल मिश्र पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार आइतबार राति करिब ९ बजे बास्के र मिश्र मिलेर सोरेनको टाउकोमा रड प्रहार गरेका थिए । रड प्रहारबाट गम्भीर घाइते भएका सोरेनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा प्रयोग भएको रडसहित मिश्रलाई प्रहरीले पक्राउ गरेको हो । घटनापछि फरार रहेकी बास्केलाई भने सोमबार बिहान खेतमा भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।