भारतको उत्तर प्रदेशमा कार दुर्घटनापछि आगलागी, ६ जनाको मृत्यु
भारतको उत्तर प्रदेशस्थित मुजफ्फरनगरमा सडक दुर्घटनापछि कारमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार पानीपत–खटीमा सडकखण्डअन्तर्गत जगहेडी ओभरब्रिज नजिक कार अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको थियो। त्यसपछि विद्युत्को खम्बामा ठोक्किँदा कारमा आगलागी भएको प्रहरीले जनाएको छ।
घटनाको सूचना पाएलगत्तै तितावी प्रहरी, दमकल टोली तथा अन्य सुरक्षाकर्मी घटनास्थल पुगेका थिए। उनीहरूले आगो नियन्त्रणमा लिएर कारमा सवार घाइतेहरूलाई उद्धार गरी अस्पताल पुर्याएका थिए।
मुजफ्फरनगर (ग्रामीण) का प्रहरी उपरीक्षक अक्षय सञ्जय महाडिकका अनुसार दुर्घटनामा कारमा सवार ६ जना जलेर घाइते भएका थिए। उपचारका लागि अस्पताल पुर्याइए पनि उनीहरू सबैको मृत्यु भएको हो।
प्रहरीका अनुसार मृतक सबै हरियाणाको हिसारका बासिन्दा हुन्। उनीहरूको पहिचान खुलाउने र परिवारका सदस्यहरूसँग सम्पर्क गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।