ग्वाटेमालामा सांसदलाई लक्षित सशस्त्र आक्रमण, तीन प्रहरी अधिकृतको मृत्यु
ग्वाटेमालामा एक सांसदलाई लक्षित गरी शुक्रबार भएको सशस्त्र आक्रमणमा तीन प्रहरी अधिकृतको मृत्यु भएको छ । आक्रमणको निशानामा परेका सांसद जुलियो पोर्टिलो भने सकुशल रहेका छन् ।
स्थानीय अग्निनियन्त्रक अधिकारी बायरन भास्क्वेजका अनुसार आक्रमणका बेला सांसद पोर्टिलो पूर्वी ग्वाटेमालाको जाकापा प्रान्तस्थित रियो होन्डो सहरमा थिए ।
ग्वाटेमालाको गृह मन्त्रालयले मृत्यु हुने तीनै जना राष्ट्रिय नागरिक प्रहरीका सदस्य रहेको पुष्टि गरेको छ । उनीहरूले सांसदलाई लक्षित गरी गरिएको आक्रमण विफल पारेको मन्त्रालयले जनाएको छ ।
आक्रमणमा संलग्न व्यक्तिहरू घटनापछि फरार रहेका छन् । उनीहरूको पहिचान भने खुल्न सकेको छैन ।
जाकापा क्षेत्र लागूऔषध तस्करीका लागि परिचित मानिन्छ । यस क्षेत्रमा लोरेन्जाना परिवारको गिरोहको प्रभाव रहेको र उक्त समूहको सम्बन्ध मेक्सिकोको सिनालोआ कार्टेलसँग रहेको बताइएको छ ।
सांसद पोर्टिलो सन् २०२३ मा विपक्षी दल काबलबाट निर्वाचित भएका थिए । पछि उनी पूर्वप्रथम महिला सान्ड्रा टोरेस नेतृत्वको नेसनल युनिटी अफ होप पार्टीमा प्रवेश गरेका थिए ।
टोरेस आगामी वर्ष ग्वाटेमालामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्ने अपेक्षा गरिएको छ ।