युक्रेनमा रुसी आक्रमण : २९ जनाको मृत्यु, ४८ जना बेपत्ता
दक्षिणी युक्रेनमा मानवीय सहायता लिन भेला भएका मानिसहरूलाई लक्षित गरी रुसले गरेको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ भने ४८ जना बेपत्ता भएका छन्।
जापोरिजिया क्षेत्रको कोम्युशुभाखा गाउँमा मानवीय सहायता वितरण भइरहेको विद्यालय भवन र नजिकैको आश्रयस्थलमा रुसी आक्रमण भएको थियो। मृत्यु हुनेमा चार प्रहरी र दुई उद्धारकर्मीसमेत छन्।
यसैबीच, रुसले युक्रेनका नौ क्षेत्रमा विद्युत् पूर्वाधारलाई लक्षित गरी रातभर आक्रमण गरेको छ। आक्रमणमा अस्पतालहरूमा क्षति पुग्नुका साथै दर्जनौँ मानिस घाइते भएका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार रुसले २८९ ड्रोन, १७ ब्यालेस्टिक र ५९ क्रुज क्षेप्यास्त्र प्रहार गरेको थियो। आक्रमणपछि विभिन्न क्षेत्रमा आपतकालीन विद्युत् कटौती गरिएको छ।
खार्किभ क्षेत्रमा कम्तीमा ६२ जना घाइते भएका छन् भने ड्निप्रो क्षेत्रमा एक जनाको मृत्यु र १७ जना घाइते भएका छन्। अस्पतालका बिरामीलाई अन्य स्वास्थ्य संस्थामा सारिएको छ। यता, रुसले पनि युक्रेनी ड्रोन आक्रमणमा आफ्नो तेल प्रशोधन केन्द्रमा क्षति पुगेको जनाएको छ।