सभामुख डीपी अर्यालसँग एमाले नेताहरूको भेट, समसामयिक राजनीतिक विषयमा छलफल
सभामुख डीपी अर्यालसँग नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्याल र सांसद गुरु बरालले भेट गरेका छन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर एमाले नेताहरूले सभामुख अर्यालसँग भेट गरेका हुन्। सभामुखको सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक तथा संसदीय विषयमा छलफल भएको थियो।
यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पनि सभामुख अर्यालसँग भेट गरेका थिए। उनले हिजो बसेको विपक्षी दलहरूको बैठकले गरेका निर्णयबारे सभामुखलाई जानकारी गराएका थिए।
सञ्चारगृहमा प्रहरी धरपकड तथा पक्राउ र सर्वोच्च अदालतमा बिचौलिया जोडिएको विषयलगायतमा संसदीय छानबिन हुनुपर्ने माग विपक्षी दलहरूले गरेका छन्। यी विषयमा छलफल गर्न विपक्षी दलहरूले संसद् बैठक बोलाउनसमेत माग गरेका छन्।