कर्णालीका मुख्यमन्त्री शाही र इजरायली राजदूतबिच भेटवार्ता
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही र नेपालका लागि इजरायली राजदूत स्मुलीक अरिएल बासबीच शिष्टाचार भेटवार्ता भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा नेपाल र इजरायलबीचको ऐतिहासिक तथा कूटनीतिक सम्बन्धका साथै कर्णाली प्रदेशको विकास र सम्भावनाबारे छलफल भएको छ।
भेटमा आधुनिक कृषि प्रणाली, प्रविधि हस्तान्तरण र युवाका लागि अवसर सिर्जना गर्ने विषयमा विशेष चर्चा भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सुरेन्द्रबहादुर शाहीले जानकारी दिए।
इजरायलले कृषि क्षेत्रमा हासिल गरेको आधुनिक प्रविधिलाई कर्णालीको भौगोलिक अवस्थाअनुसार प्रयोगमा ल्याउने, ‘सिक्दै कमाउँदै’ कार्यक्रममार्फत युवालाई अवसर प्रदान गर्ने तथा इजरायलबाट फर्किएका जनशक्तिको सीपलाई प्रदेशको कृषि रूपान्तरणमा उपयोग गर्ने विषयमा सकारात्मक छलफल भएको उनले बताए।
त्यस्तै, सरकारी प्रणालीमार्फत इजरायलमा केयरगिभरका रूपमा वैदेशिक रोजगारीका अवसर विस्तार, जनस्तरको सम्बन्ध विकास, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा प्रविधि आदानप्रदान गर्ने सम्भावनाबारे पनि छलफल भएको थियो।
भेटका क्रममा राजदूत बासले कर्णालीको कृषि, खानेपानी, प्रविधि हस्तान्तरण तथा क्षमता विकासका क्षेत्रमा इजरायल सरकार सहयोग र साझेदारी विस्तार गर्न सकारात्मक रहेको बताएका थिए।
मुख्यमन्त्री शाहीले कर्णालीको समृद्धि र सम्भावना उजागर गर्न इजरायलको अनुभव, दक्षता र प्रविधि उपयोगी हुने विश्वास व्यक्त गरेका थिए।