माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मंगलबार दायर गरिएको मुद्दामा अख्तियारले ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो मागदाबी गरेको छ ।
अख्तियारका अनुसार उद्योग सञ्चालनका लागि हदबन्दी छुटमा प्राप्त सुनसरी र मोरङको जग्गा गैरकानुनी रूपमा सट्टापट्टा तथा बिक्री गरी राज्यलाई ठूलो आर्थिक नोक्सानी पुर्याइएको हो ।
उक्त प्रकरणमा तत्कालीन प्रधानमन्त्री नेपालले मन्त्रिपरिषद्मा जग्गा सट्टापट्टाको प्रस्ताव अघि बढाएको र तत्कालीन मन्त्री रिजालले गैरकानुनी निर्णय गराएको अख्तियारको आरोप छ । आयोगले उनीहरूसहितका प्रतिवादीलाई बिगो असुल, कैद तथा जरिवानाको माग गरेको छ ।