भ्रामक सूचना फैलाएको आरोपमा नेकपा नेता गोविन्द अधिकारी पक्राउ
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कास्कीका नेता गोविन्द अधिकारी पक्राउ परेका छन्। सामाजिक सञ्जालमार्फत भ्रामक सूचना तथा भिडियो फैलाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
गृहमन्त्री सुधन गुरुङको गोरखामा आयोजित कार्यक्रमलाई लक्षित गरी गलत तथा भ्रामक भिडियो र सूचना सम्प्रेषण गरेको आरोपमा अधिकारीविरुद्ध जिल्ला प्रहरी कार्यालय गोरखामा विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता भएको थियो।
कास्कीमा रहेका अधिकारीलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरी थप अनुसन्धानका लागि गोरखा पठाएको हो।
कास्की प्रहरीका इन्स्पेक्टर दीपक रिजालका अनुसार गोरखामा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको अवस्थामा अधिकारीको लोकेसन कास्कीमा देखिएपछि पक्राउ गरिएको हो। उनले पक्राउ प्रक्रिया कानुनअनुसार नै अघि बढाइएको बताएका छन्।
यता, नेकपाले भने गृहमन्त्री सुधन गुरुङकै निर्देशनमा अधिकारीलाई पक्राउ गरिएको आरोप लगाएको छ। साथै, वाईसीएल नेपाल कास्की जिल्ला समन्वय समितिले अधिकारीको निःशर्त रिहाइको माग गरेको छ।
वाईसीएलले राजनीतिक आस्था, विचार तथा सरकारको आलोचना गरेकै आधारमा नागरिकमाथि धरपकड र राजनीतिक प्रतिशोध नगर्न सरकारलाई आग्रह गरेको छ। अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास नगर्न चेतावनी दिँदै संगठनले गोविन्द अधिकारीलाई तत्काल रिहा गर्नुपर्ने लगायत पाँचबुँदे माग अघि सारेको छ।
प्रहरीले भने अधिकारीमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको जनाएको छ।