एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–जनकपुर र लुम्बिनी–पोखरा भिड्दै
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुवै खेलमा चार टोली प्रतिस्पर्धा गर्दैछन् ।
आजको पहिलो खेलमा दिउँसो १२:३० बजे विराटनगर किंग्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् । तीन खेल खेलेको विराटनगरले एक खेलमा मात्रै जित निकालेको छ । आफ्नो चौथो खेलमा मैदान उत्रँदा विराटनगर दोस्रो जितको खोजीमा हुनेछ ।
यता तीन खेल खेलेको जनकपुर बोल्ट्सले दुई खेलमा जित र एक खेलमा हार बेहोरेको छ । जनकपुर आजको खेल जित्दै लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ ।
त्यस्तै, आजै साँझ ५ बजे हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।
दुई खेल खेलेको लुम्बिनीले एक खेलमा जित निकालेको छ भने वर्षाका कारण अर्को खेलबाट एक अंक बाँडेको छ । लुम्बिनी आज पनि आफ्नो अपराजित यात्रा कायम राख्ने लक्ष्यसहित मैदान उत्रनेछ ।
यता पोखरा एभेन्जर्सले भने प्रतियोगितामा अहिलेसम्म जित निकाल्न सकेको छैन । दुई खेल खेलेर दुवैमा पराजित भएको पोखरालाई प्रतियोगितामा पुनरागमन गर्न आजको खेल जित्नुपर्ने दबाब छ ।
आजका दुवै खेलले अंकतालिकामा टोलीहरूको स्थान र आगामी यात्रालाई प्रभाव पार्ने भएकाले प्रतिस्पर्धा रोचक हुने अपेक्षा गरिएको छ ।