बागमतीमा सभामुख चयनमा सत्ता गठबन्धनभित्रै किचलो, प्रदेश सभा बैठक अनिश्चित
बागमती प्रदेश सभाको सभामुख चयनलाई लिएर सत्तारुढ गठबन्धनभित्रै विवाद चर्किएको छ । पद बाँडफाँट र उम्मेदवारको टुङ्गो लगाउन नसक्दा प्रदेश सभा बैठकसमेत अनिश्चित बनेको छ ।
तत्कालीन सभामुख भुवनकुमार पाठकले २०८२ असोज १ गते राजीनामा दिएपछि सभामुख पद रिक्त छ । सरकार गठनका बेला सभामुख नेकपाले पाउने सहमति भए पनि एमाले र नेकपाबीच मन्त्रालय बाँडफाँटमा असन्तुष्टि देखिएपछि प्रक्रिया अघि बढ्न सकेको छैन ।
नेकपाका सांसद कृष्णप्रसाद खनाल र रत्न ढकाल सभामुखका आकाङ्क्षी देखिएका छन् । नेकपाभित्रै उम्मेदवार टुङ्ग्याउन नसक्दा समस्या थपिएको बताइएको छ ।
यद्यपि, आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेलले सत्ता गठबन्धनमा कुनै विवाद नरहेको दाबी गरेका छन् । उनले तिहारलगत्तै प्रदेश सभा बैठक बोलाएर सभामुख चयन प्रक्रिया अघि बढाउने बताएका छन् ।
बैठक नबस्दा उच्च शिक्षा, वन तथा वातावरण, आर्थिक कार्यविधि र खानेपानीसम्बन्धी विधेयक संसदीय समितिमै अड्किएका छन् । यसले प्रदेशको कानुन निर्माण र सरकारका कामकारबाहीसमेत प्रभावित भएका छन् ।