चावहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौंको चावहिलमा बसको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका–१ का सुमनप्रसाद अधिकारी रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार आज बिहान काठमाडौं महानगरपालिका–७ स्थित चावहिल ओरालोमा गोपीकृष्ण पुलबाट चावहिल चोकतर्फ आउँदै गरेको बा प्र ०२–०५३–१८६४ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको प्रदेश ३–०१–००६ ख ०६३० नम्बरको भाडाको बसले ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते अधिकारीलाई उपचारका लागि चावहिलस्थित हेल्पिङ हेण्ड्स अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । दुर्घटनामा संलग्न बस र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।