बाजुराका दुई अलपत्र पुलको ठेक्का रद्द, निर्माण प्रक्रिया अघि बढाइँदै
बाजुरामा वर्षौँदेखि अलपत्र रहेका बूढीगङ्गा नदीको मौरे पुल र ठूलीसाँघु खोलाको पुल निर्माणको ठेक्का रद्द गरिएको छ । निर्माण कम्पनी बिकोई बिल्डर्स प्रालिले सम्झौताअनुसार काम सुरु नगरेपछि महाकाली पुल योजना कार्यालयले ठेक्का रद्द गरेको हो । दुवै पुल निर्माणका लागि १६ करोड २१ लाख रुपैयाँभन्दा बढीमा सम्झौता भएको थियो ।
ठेक्का रद्दसम्बन्धी विवादमा अदालतले २०८३ साउनमा योजना कार्यालयकै पक्षमा फैसला सुनाएपछि निर्माण प्रक्रिया अघि बढाइएको महाकाली पुल परियोजनाका सूचना अधिकारी रवि शाहले जानकारी दिए ।
दुवै पुल निर्माणका लागि नेपाल पूर्वाधार कम्पनीमार्फत प्रक्रिया सुरु गरिएको छ । पुल नहुँदा वर्षायाममा स्थानीयको आवतजावत प्रभावित हुँदै आएको छ ।
यसैबीच, जिल्लाका मार्तडी–कोल्टी र खप्तड–गैरीखाद–आटीचौर हुँदै मार्तडी जोड्ने सडक आयोजना पनि अलपत्र छन् । गत आर्थिक वर्षमा यी दुई सडकका लागि विनियोजित ३३ करोड ५० लाख रुपैयाँ खर्च हुन नसकी फिर्ता भएको थियो ।