बागमती सरकार गठनका लागि नेकपाद्वारा ५ सदस्यीय वार्ता टोली गठन
बागमती सरकार गठनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पहल थाल्ने भएको छ। नयाँ गठबन्धनबाट नेकपा एमालेको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने गरी नेकपाले वार्ता टोली बनाएको हो।
नेकपा बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकार गठनका सन्दर्भमा समन्वय गर्न वार्ता टोली गन गरेको हो। हेटौँडास्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले वर्तमान राजनीतिक अवस्थाको समीक्षा गर्दै सरकार गठनका लागि ठोस कदम चाल्ने निर्णय गरेको हो।
संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालका अनुसार बैठकले गत वैशाख ९ गते नेकपा र एमाले बिच भएको सहमति अनुसार बागमती प्रदेश सरकार गठनका लागि आवश्यक वातावरण बनाउन पहल गर्ने निर्णय गरेको हो । सरकार गठनका लागि एमाले र अन्य राजनीतिक दलहरूसँग संवाद तथा समन्वय गर्न ५ सदस्यीय कार्यदल (वार्ता टोली) गठन गरिएको उनले बताए ।
सो कार्यदलमा नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेल संयोजक रहेका छन् भने सदस्यहरूमा कृष्ण खनाल, रत्नप्रसाद ढकाल, सरल सहयात्री र कुमारी मोक्तान रहेका छन् । सरकार गठनका लागि आवश्यक अङ्कगणित चुनौतीपूर्ण रहेको अवस्थामा प्रमुख सचेतक ढकालले एमालेको नेतृत्वमा सरकार बन्ने सहमति भए तापनि नेकपाले जिम्मेवार दलको रूपमा पहलकदमी लिने बताए ।
उनले एमालेका साथै हाम्रो नेपाली पार्टी, नेपाल मजदुर किसान पार्टी र राप्रपा लगायतका दलहरूसँग संवाद र छलफल अघि बढाउने निर्णय भएको बताए । राप्रपाका संसदीय दलका नेता र सांसदहरूसँगको प्रारम्भिक छलफलमा उहाँहरू सरकारमा सहकार्य गर्न सकारात्मक देखिएको उनको भनाइ छ ।
राप्रपाले आफ्नो पार्टीको आधिकारिक निर्णय आएपछि मात्र थप सहमति गर्ने बताएको र हालसम्मको छलफल निकै सकारात्मक रहेको उनले बताए।