कांग्रेसको १५औँ महाधिवेशनका लागि गोरखा संयोजकमा भुगोल थापा
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि शेरबहादुर देउवा समूहले भुगोल थापालाई गोरखा जिल्ला संयोजक मनोनयन गरेको छ ।
१५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले भदौ २५ गते पत्रमार्फत थापालाई जिल्ला संयोजक मनोनयन गरिएको जानकारी दिएका हुन् ।
समितिको भदौ १७ र १८ गते बसेको बैठकले आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो । महाधिवेशनअन्तर्गत असोज १५ गते वडा, असोज २० गते पालिका, असोज २३ गते प्रदेश सभा निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय, कात्तिक १५ गते जिल्ला र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ ।
थापालाई गोरखामा पार्टीको संगठन सुदृढ बनाउने जिम्मेवारीसहित जिल्ला संयोजक मनोनयन गरिएको पत्रमा उल्लेख छ । देउवा समूहले महाधिवेशन लक्षित गर्दै संगठनात्मक गतिविधि अघि बढाइरहेको जनाएको छ ।