कांग्रेस पदाधिकारी बैठक आज बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारका पछिल्ला गतिविधि तथा अन्य महत्वपूर्ण विषयमा छलफल हुने बताइएको छ।
विशेषगरी सरकारले बुधबार दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर मनोज कार्कीलाई नियुक्त गरेको विषयमा बैठकले पार्टीको आधिकारिक धारणा तय गर्ने बुझिएको छ।
त्यसैगरी, पत्रकार पक्राउ तथा सञ्चारमाध्यममाथि भएको धरपकडलगायत सरकारका गतिविधिका विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ।
कांग्रेसले यसअघि यी घटनाको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्न माग गर्दै तत्काल प्रतिनिधिसभाको बैठक बोलाउन सरकारसँग माग गरिसकेको छ।
आजको बैठकले सरकारका पछिल्ला निर्णय तथा गतिविधिबारे पार्टीको आगामी रणनीति र संसदीय भूमिकासमेत तय गर्ने अपेक्षा गरिएको छ।