त्रिविको ढिलासुस्तीले एलएलबी पढ्न नपाएको भन्दै विद्यार्थी पुगे मानव अधिकार आयोग
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा भएको ढिलासुस्तीका कारण उच्च शिक्षा अध्ययनबाट वञ्चित हुनुपरेको भन्दै एक विद्यार्थीले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट बीए उत्तीर्ण गरेका मोरङका योगराज दाहालले मंगलबार आयोगमा उजुरी दर्ता गराएका हुन्।
दाहालका अनुसार उनले २०८२ भदौ १३ गते बीए प्रथम वर्षको आंशिक परीक्षाको फारम भरे पनि परीक्षा २०८३ जेठ १८ देखि २७ गतेसम्म सञ्चालन भएको थियो। परीक्षा सकिएको दुई दिनपछि त्रिविले एलएलबीको प्रवेश परीक्षा सञ्चालन गरे पनि स्नातकको नतिजा नआइसकेकाले उनी प्रवेश परीक्षामा सहभागी हुन पाएनन्।
त्रिविले बीएको नतिजा भने २०८३ भदौ २२ गते मात्रै सार्वजनिक गरेको थियो। यसले गर्दा आफू चालू शैक्षिक सत्रमा विराटनगरस्थित डिग्री क्याम्पसमा तीनवर्षे एलएलबी अध्ययन गर्नबाट वञ्चित भएको उनको गुनासो छ।
दाहालले विशेष वा पूरक प्रवेश परीक्षा सञ्चालन गरेर भए पनि आफूलाई भर्नाको अवसर उपलब्ध गराउन आयोगसँग माग गरेका छन्।
यसअघि उनले ‘हेलो सरकार’मार्फत १० पटक उजुरी गर्नुका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शिक्षा मन्त्रालयमा समेत निवेदन दिएका थिए। तर, समस्या समाधान नभएपछि मानव अधिकार आयोग पुगेको उनले बताएका छन्।
उनले परीक्षा र नतिजा प्रकाशनमा हुने प्रशासनिक ढिलाइका कारण भविष्यमा अन्य विद्यार्थीले समेत शैक्षिक अवसर गुमाउन नपर्ने व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिन आयोगसँग माग गरेका छन्।