फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन
सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर एकापसमा ठोक्किएको घटनाको छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय समिति गठन गरेको छ।
प्राधिकरणले निर्देशक प्रभाकरचन्द्र मल्लिकको संयोजकत्वमा पाइलट तथा वायुयान इन्जिनियर सम्मिलित समिति गठन गरेको हो।
मंगलबार फेरिचेमा एयर डाइनेस्टीको ‘९एन–एओडी’ र फिस्टेल एयरको ‘९एन–एजेआर’ हेलिकप्टर एकापसमा ठोक्किएका थिए। उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने दुई पाइलट र एक यात्रु घाइते भएका थिए।
प्राधिकरणका अनुसार गठित समितिलाई दुर्घटनाको कारण तथा घटना गराउन सक्ने सम्भावित कारक तत्त्वहरूको अध्ययन र विश्लेषण गरी प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ।
प्राधिकरणले बुधबार समिति गठनबारे जानकारी दिँदै दुर्घटनाको विस्तृत छानबिन गरी आवश्यक प्रतिवेदन पेस गर्न निर्देशन दिएको जनाएको छ।