एनपीएलमा आज दुई खेल हुँदै, लुम्बिनी–जनकपुर र काठमाडौं–विराटनगर भिड्दै
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहीबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा चार टोली प्रतिस्पर्धामा उत्रिँदैछन्। आजको पहिलो खेलमा दिउँसो १२:३० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।
तीन खेलबाट दुई जित र एक बराबरीसहित पाँच अंक जोडेको लुम्बिनी लायन्स तालिकाको शीर्ष स्थानमा छ। अपराजित रहेको लुम्बिनी आजको खेल जित्दै आफ्नो चौथो जित निकाल्ने लक्ष्यमा हुनेछ।
यता चार खेल खेलेको जनकपुर बोल्ट्सले दुई जित र दुई हारसहित चार अंक जोडेको छ। तालिकाको चौथो स्थानमा रहेको जनकपुर आज तेस्रो जितको खोजीमा मैदान उत्रिनेछ।
त्यस्तै, आजै साँझ ५ बजे हुने दोस्रो खेलमा काठमाडौं गोर्खाज र विराटनगर किंग्स आमनेसामने हुनेछन्। दुई खेल खेलेको काठमाडौंले एक जित र एक हार बेहोरेको छ। दुई अंकसहित तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको काठमाडौंलाई आजको खेल जित्दै अंक तालिकामा सुधार गर्ने अवसर हुनेछ।
अर्कोतर्फ, सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सले चार खेलबाट दुई जितसहित चार अंक जोडेको छ। तालिकाको दोस्रो स्थानमा रहेको विराटनगर आज तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछ। आजका दुवै खेलले अंक तालिकाको समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने भएकाले प्रतिस्पर्धा रोचक हुने अपेक्षा गरिएको छ।