रौतहटमा स्रोत नखुलेको ४४ लाखभन्दा बढी रकमसहित दुई जना पक्राउ
रौतहटमा स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका एक भारतीय नागरिकलाई ३० लाख रुपैयाँसहित पक्राउ गरेपछि प्रहरीले थप अनुसन्धानका क्रममा गौरस्थित एक व्यापारिक प्रतिष्ठानबाट १४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मंगलबार दिउँसो ईशनाथ नगरपालिका–४ महुलियास्थित काली मन्दिर नजिक प्रहरी चौकी मठियाबाट खटिएको टोलीले भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त रकम फेला पारेको थियो।
मोटरसाइकलको झोला र ट्यांकीमुनि फल्स बटम बनाएर लुकाइएको अवस्थामा ३० लाख रुपैयाँ र एक थान स्मार्टफोन बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला, फुलबरिया–१३ निवासी ३० वर्षीय सनि कुमार जैसवाल रहेका छन्।
प्रहरीका अनुसार प्रारम्भिक सोधपुछका क्रममा जैसवालले उक्त रकम गौर नगरपालिका–१ स्थित न्यु तराई ट्रेडर्सका सञ्चालक शेख कमरुललाई बुझाउन ल्याएको बताएका थिए।
त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक जीवनकुमार मैनालीको कमाण्डमा खटिएको टोलीले उक्त व्यापारिक प्रतिष्ठानमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
सोही क्रममा प्रहरीले पसल सञ्चालक ५१ वर्षीय शेख कमरुललाई समेत नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको छ। बरामद कुल ४४ लाख ६४ हजार ६०५ रुपैयाँको स्रोत तथा कारोबारबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।