बैतडीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु, ६ जना घाइते
बैतडीको मेलौली नगरपालिका–१ स्थित जिरो पोइन्ट नजिक सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
गएराति करिब ८ बजे डडेल्धुराबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सु.प.प्र. ०१-००१ ज १६३८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३० देखि ३५ मिटर तल खसेर दुर्घटना भएको हो।
जिपमा चालकसहित सात जना सवार रहेको बताइएको छ। दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मेलौली पठाइएको थियो।
उपचारकै क्रममा राति ८ः३५ बजे पञ्चेश्वर गाउँपालिका–२, बैतडी निवासी ३५ वर्षीया सुना मंगोलाको मृत्यु भएको हो। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्। दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।