विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई १७५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७४ रन बनाएको हो ।
विराटनगरका लागि आन्द्रे रसेल, इम्रान शेख र लोकेश बमले अर्धशतक बनाए । रसेलले २९ बलमा ५ छक्का र १ चौकासहित ५२ रन बनाए । इम्रानले ४० बलमा ५ चौका र २ छक्काको मद्दतमा ५३ रन जोडे भने लोकेशले ४० बलमा ५ चौका र ३ छक्कासहित ५० रन बनाए ।
ओपनर शेहान जयसूर्या भने ३ बलमा १ रन बनाउँदै आउट भएका थिए । त्यसपछि इम्रान र लोकेशले उत्कृष्ट साझेदारी गर्दै विराटनगरको इनिङ्स सम्हालेका थिए ।
जनकपुरका लागि अभिषेक तिवारीले २ तथा मोइन अलीले १ विकेट लिए । टस जितेर पहिले बलिङ रोजेको जनकपुरले अब १७५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गर्नेछ ।